Nepali Kabita

नेपाली कविता सङ्ग्रह

Collection of beautiful Nepali Poems and Muktaks

Advertisement
उत्कृष्ट मुक्तकहरु
१। रात केवल एक प्रहर बाँकी छ तिन प्रहरको अन्तिम असर बाँकी छ पश्चिममा पुगेकी एक्ली चाँदनीलाई केवल यौटा मेरै भर बाँकी छ कैयौँले यहाँ रातको गीत थालेथे आफ्ना-आफ्ना ताराहरू बालेथे तर को रह्यो र अब यहाँ तिमी छौ म छु र हाम्रो रहर बाँकी छ - भीमदर्शन रोका
२। आकाशको सब तारा गनिसकेपछि प्रत्येक श्वास सुस्केरा बनिसकेपछि के रह्यो अब मेरो मसँग प्रियतम ? तिमीलाई आफ्नो भनिसकेपछि । - हरिभक्त कटुवाल
कतै जुवाडेले कौडि खेलाउँदै हानेको छुक जस्तो कतै भर्खर वसन्तले छोडेर गएको रुख जस्तो यस्तो लागिरहेछ आफैलाई अचेल यो जीवन- अन्तिम पातो पनि च्यातेपछिको एउटा ठूटो चेकबुक जस्तो । - भूपी शेरचन
मैले पिएकोमा रिसाएका साथीहरू पिएर त हेर, पिउँन झन गाह्रो छ मरेर शहीद हुनेहरू जिएर त हेर, जिउँन झन गाह्रो छ । - भीमनिधि तिवारी
पैसा तिर्नुपरे औषधि पनि नखाने सित्तैमा पाए विष पनि खाने हाम्रो समाजमा यस्ता मान्छे पनि छन् भ्रमणभत्ता पाइन्छभने, नरक पनि जाने । - विकास गोतामे
उसलाई त मैले चिनकै छैन उसले त मलाई चिन्छे रे मेरो मायाको दाम सोद्धै थिई सस्तोमा पाए किन्छे रे - माधव सापकोटा
बासी बासी के बासी मासु बासी कि काँसी बासी बाबुको नाममा पचहत्तर बिघा छोरो सुकुम्बासी - नगेन्द्रराज शर्मा
जब यौवन यौवन यहाँ आँखी छ आँखा आँखामा आमन्त्रणको झाँकी छ किन चासो कि, कहाँ बिताएँ रात मैले ? यही काफी छ कि ममा बैंश अझै बाँकी छ । - मनु ब्राजाकी
जति धेरै आफुलाई केलाउँछन् त्यति धेरै तिमीलाई खेलाउँछन् मरेपछि स्वर्ग जाने ढल जस्तो- बागमतिमा आफूलाई सेलाउँछन् । - उषा शेरचन
पाखा पखेरामा बसुँ भने पहिरो जाला कि भन्ने डर खोलाको छेउमा बसुँ भने बाढी आउला कि भन्ने डर जताततै असुरक्षित देख्छु जिन्दगी म अचेल – मान्छेको हुलमा बसुँ भने मान्छेले नै खाला कि भन्ने डर । - कपिल अज्ञात
स्वस्थानी उही हो यहाँ खालि गाता फेरिन्छ प्रवृत्ति उही हो यहाँ खाली नाता फेरिन्छ रमाउँ कसरी परिवर्तनको खुशीले म ? मान्छे उनै हुन् यहाँ खाली छाता फेरिन्छ । - गोविन्द गिरी प्रेरणा
पहाडले झैँ जिन्दगी जिउन पाए पनि हुन्थ्यो सागरले नदी पिए झैँ पिउन पाए पनि हुन्थ्यो फाटेर मन प्वालैप्वाल भइसक्यो – यसपालीको बसन्तमा त सिउन पाए पनि हुन्थ्यो । - अज्ञात
गोपाल योन्जन
बनेको छ पहराले यो छाति मेरो बनेको छ पहराले यो छाति मेरो बगेको छ छहरा रगतमा मेरो पखेरुमा जन्मी टाकुरामा खेल्ने म झुक्दै नझुक्ने नेपालको छोरो खोसेको रोटीले मेरो पेट भरिन्न मागेको धोतिले मेरो लास छोपिन्न धसिएर हातपाउ झरि जाउन औँला तर कोही अगाडि यो हात जोडिन्न म आगो सहन्छु अन्याय सहन्न म तृष्णा सहन्छु तिरस्कार सहन्न मेरो शिर उडाउ बरु त्यो सहन्छु तर शिर परायाले टेके सहन्न.
गोपालप्रसाद रिमाल
एक दिन एकचोटि आउँछ
एक जुगमा एक दिन एकचोटि आउँछ उलटपुलट, उथलपुथल, हेरफेर ल्यांउँछ लाटासुधा बोल्न थाल्छन्, चल्न ओठ दु:खको सहे भनी सझएका इख फेर्न उठ्तछन् गए भनी नदेखिएका फर्कीफर्की आउँछन् सुते भनी सम्झिएका सुरुसुरु हिंड्छन् मरे भनी फ्याँकिएका जुरुजुरु हिंड्छन् खरानी हुन्छ भरभराउँदो, हुरी चल्न थाल्दछ कायर पनि वीर हुन्छन्, वेग चल्छ जोशको हाहाकार मच्छ यहाँ पाप खुल्न थाल्दछ एक जुगमा एक दिन एकचोटि आउँछ !
अम्बर गुरुङ
म अम्बर हुँ
म अम्बर हुँ, तिमी धरती लाख चाहे पनि हाम्रो, मिलन कहिले नहोला । देखिन्छ दूर क्षितिजमा हाम्रो मधुमय सङ्गम, आवेगले म झुक्दा तिमी उठकी एकदम, तर न त छ त्यो क्षितिज न त त्यो मधुमय सङ्गम । युगयुगको तृष्णा हाम्रो कहिले न तृप्त होला, युगयुगकै व्यथा हाम्रो धडकन चिरिरहला, खाक पारेर पनि ज्वाला जलिरहला ।
चाँदनी शाह
उकाली-ओरालीहरुमा
उकाली-ओरालीहरुमा, भन्ज्याङ अनि चौतारीहरुमा सुन्दर ती दहहरुमा, हिमालका विशाल छातीहरुमा जहाँ-जहाँ जान्छौ तिमी म पाइला बनी पछ्याइरहन्छु ती छहरा खोला-खहरेहरुमा सम्झना बनी बगिरहन्छु तराईइका हरिया फाँटमा, पहाडका तरेलीहरुमा हिमालका सुन्दर अनि विकट ती बस्ती-बस्तीहरुमा जहाँ-जहाँ जान्छौ तिमी म बाटो बनी साथै आइरहन्छु ती सुस्केरा थकाइ सुसेलीहरुमा गीत बनी गुन्जिरहन्छु मुटु कमाउने जाडोहरुमा, कपाल दुख्ने गर्मीहरुमा मन हर्ने सुन्दर दृश्य शान्त शीतल वातावरणमा जहाँ-जहाँ जान्छौ तिमी म आकाश बनी देखिरहन्छु ती लेक, बेँसी अनि पाखाहरुमा पवन बनी भेटिरहन्छु
दुर्गालाल श्रेष्ठ
फूलको आँखामा
फूलको आँखामा फुलै संसार काँडाको आँखामा काँडै संसार झुल्कीन्छ है छाँया वस्तु अंसार ।। चित्त शुद्ध होस् मेरो बोली बुद्ध होस मेरो पैतालाले किरै नमरोस् राम्रो आँखामा खुल्छ राम्रै संसार ।। टहटह जून देखूँ कालो रातैमा जीवन संगीत सुनुँ म सुख्खा पातैमा सङ्लो मनमा खुल्छ सङ्लै संसार ।।
मन्जुल
मेरो सानो मुरलीमा
मेरो सानो मुरलीमा मेरो देश नअटला तर मेरो मुरलीले भाखा राखुँ भन्छ मेरो सानो मुटुभित्र मेरो देश नअटला तर मेरो दश औँलीले देशै ढाकुँ भन्छ । सुनाखरी फुलुँ भन्छ, सुनगाभा फुलुँ भन्छ गुराँसको जोवन मेरो, लालुपाते हासुँ भन्छ वेणी र त्रिवेणी देशसंग मिलुँ भन्छ । बादलुले उडुँ भन्छ, पखेरामा गुडुँ भन्छ आकासले अडुँ भन्दा, पर्वतले बढुँ भन्छ डाँफे चरी माथि माथि हिमालमा चढुँ भन्छ ।।
लक्ष्मीप्रसाद देवकोटा
यात्री
कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो ? कुन सामग्री पुजा गर्ने, साथ कसोरी लाने हो ? मानिसहरूका काँध चढी, कुन देवपुरीमा जाने हो ? हाडहरूका सोन्दर खम्बा, मांस पिण्डका दिवार । मस्तिस्कको यो सुनको छाना, इन्द्रियहरुका द्वार ! नसा-नदिका तरल तरङ्ग, मन्दिर आफू अपार ! कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरको द्वार ? मनको सुन्दर सिंहासनमा जगदिश्वरको राज ! चेतनको यो ज्योति हिरण्य, उसको शिरको ताज ! शरिरको यो सुन्दर मन्दिर, विश्वक्षेत्रको माझ । भित्र छ ईश्वर बाहिर आँखा खोजि हिंडछौ कुन पुर ? ईश्वर बस्तछ गहिराइमा, सतह बहन्छौ कति दूर ? खोजी गर्छौ ? हृदय उगाऊ, बत्ती बाली तेज प्रचुर ? साथी यात्री बीच सडकमा, ईश्वर हिंडछ साथ चुम्दछ ईश्वर काम सुनौला गरीरहेको हात छुन्छ तिलस्मी करले उसले, सेवकहरूको साथ । सडक किनारा गाउँछ ईश्वर चराहूरूको तानामा बोल्दछ ईश्वर मानिसहरूको पीडा, दु:खको गानामा दर्शन किन्तु कहीं दिंदैन, चर्म-चक्षुले कानामा । कुन मन्दिरमा जान्छौ यात्री, कुन नवदेश बिरानामा ? फर्क फर्क हे ! जाऊ समाऊ, मानिसहरूको पाउ ! मलम लगाऊ आर्तहरूको, छहराइरहेको घाउ मानिस भई ईश्वरको यो दिव्य मुहार हँसाऊ ।
वैरागी काइँला
औँलाहरू चुमेर
औँलाहरू चुमेर औँलाभरि सलाम मेरो हजुरलाई आँखाभरि सलाम । के बिराएँ ? नजरले चुमेँ ती फूल जो ओठमा फुले के बिराएँ ? हत्केलामा थापेँ ती केश जो लाजमा झुके मानेँ, कि मेरो हजुरलाई बाटोभरि साह्रै गरी लाज लाग्यो रे । औँलाहरू चुमेर औँलाभरि सलाम मेरो हजुरलाई आँखाभरि सलाम । के बिराएँ ? सपनामा आएँ सपना र विपना पगालेँ के बिराएँ ? फूलमा गालेँ सीमाना र साँध नै पगालेँ मानेँ कि मेरो हजुरलाई सपनामा रातभरि नीद लागेन रे ।
श्याम तमोट
गाउँ–गाउँबाट उठ
गाउँ–गाउँबाट उठ, बस्ती–बस्तीबाट उठ यो देशको मुहार फेर्नलाई उठ । हातमा कलम हुनेहरु, कलम लिएर उठ बाजा बजाउँन जान्नेहरु, बाजा लिएर उठ । हातमा औजार हुनेहरु, औजार लिएर उठ साथमा केही नहुनेहरु, आवाज लिएर उठ । झिल्का–झिल्का बल्नेहरु, ज्वाला भएर उठ देशका लागि लड्नेहरु, एकजुट भएर उठ ।
कृष्ण हरि बराल
थाकिन्न रैछ कहिल्यै उकोलो चढ्‍दा पनि पीरतिमा त अहो ! चिप्लेर लडदा पनि पुतली हुँ कि आफू बती पो हो कि माँया जाउँ त्यही झैँ लाग्छ पखेटा डढ्‍दा पनि धोखा भयो त के भो, मजा छ सम्झनैमा अतीतका पुराना प्रेमपत्र पढ्‍दा पनि राधा र कृष्णकोझैँ संयोग–वियोग हो माया चुलिन्छ यो त झन्झन् दुरी नै बढे पानि ।
इश्वर वल्लभ
मानिसको पयर
आकाश मात्रै नहेर धरती पनि हेर्नुपर्छ धरतीले मानिसलाई सारै माया गर्छ जति नै तारा आकाशमा छन् त्यति नै थोपा यहाँ पानी पर्छ, त्यति नै बिरुवा यहाँ र्सछ - क्षितिज जतिजति टाढिंदै जान्छ पाइला त्यति त्यति नै यहाँ र्सछ कहीँ बत्ती बल्दै बल्दै जान्छ, कहीँ बत्ती निभ्दै निभ्दै जान्छ तर पयर मानिसको र्सर्दै र्सर्दै जान्छ ।
अज्ञात
फर्काइदेऊ मेरो मनको एक जोडी परेवा
आज कतै गएर एउटा चर्को आवाजले चिच्याउँ लागिरहेछ मनका सबै लगाम फुकाएर आज कतै दौडूँ लागिरहेछ मन सधैँ पानी भएर बग्यो उठेर कहिले-काहीँ त आगो भएर पनि बल्न पर्थ्यो निर्मम चट्टानसँगको साउती र सम्झौतामा चुपचाप बग्दोछ यो मन कुनै मृत्यु-दण्डको सजाय पाए जस्तो किन चोरेर लग्यौ एकाएक मेरो मनको एक जोडी परेवा पर्काइदेऊ उडून् माथि कतै आकाशको गहिराइमा चाहान्छन् यदि भने आकाशदेखि पनि पर कतै अनन्तको आकाशमा आज यो मनलाई लामो थकान मेट्न कुनै चौतारीको ढुँगा चाहिएको छ एक जोडी बर-पीपलको छाँया र निर्मल, सुकिलो, चिसो बतास चाहिएको छ कंकाल जस्तै यो मन गहिराइ छामेर तल ओर्ले जस्तो मध्यरात मन पनि मीठो निद्रा निदाउन नसकेर छटपट-छटपट यो मेरो मनको तलाउमा एकाएक आज तरङ्ग उठिरहेछ एक झरी निद्रा फर्काइदेऊ एक जोडी परेवा फर्काइदेऊ मनको किन चोर्‍यौ सुटुक्क यो मनको अज्ञात देशबाट उड्न देऊ चुपचाप गहिराइमा आकाशदेखि पर कतै अर्को आकाशमा ।
दिनेश अधिकारी
पानीको गाँठो
कहाँनेर खुकुलिन्छ र, कहाँनेर कसिन्छ भनेर हेर्नेले छुट्याउनै नसक्ने पानीको गाँठोजस्तै एउटा सम्बन्ध छ हाम्रा बीचमा मैले त्यसलाई मात लागेको रातमा पनि भोगेको छु घात प्रतिघातका माझमा पनि भोगेको छु अथवा यसो पनि भन्न सकिन्छ यस सम्बन्धलाई - मेरा आँसु पिएर ऊ बाँचेकी छे भने मैले पनि त अहिले सम्म उसकै रगत पिएर सास धान्दै आएको छु म त छुट्याउनै सक्तिन उसलाई आफूबाट सुख दुखका प्रसङ्गहरुमा प्रप्ति समाप्तिका सर्न्दर्भहरुमा ऊ मसँग - फूलमा सुवासजस्तै बिछिएकी छ ऊ मसँग - बत्तीमा ज्योतिजस्तै मिसिएकी छ कहिलेकाहीँ आजित भएर जब जब म आफूभित्रको "लोग्ने” लाई स्वास्नीबाट टाढा एउटा अलग्गै शिविरमा उभ्याउने विचार गर्छु निमेषमै भत्कन्छ मेरो तारको घर र, लाग्छ - नदीको प्रवाहलाई व्यर्थै म लठ्ठीले हानेर टुक््रयाउने प्रयास गरिरहेको छु छिः के भएको मेरो सुद्धी ? म त उसकै सिन्दुरे विश्वासमा पो अहिलेसम्म आफूलाई जिउँदो पाइरहेको छु ।